काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका-६ शङ्खरापुर अस्पताल अगाडि मिनी ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
डोल्पा जिल्ला काईके गाउँपालिका-५ घर भई हाल काठमाडौँ नारायणटार बस्ने ७३ वर्षीया अमन्नी थापाको उपचारका क्रममा आज मृत्यु भएको उपत्यका टाफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनले भने, “शङ्खरापुर अस्पताल अगाडि बा १ क २४४६ नम्बरको निजी मिनी ट्रकले बाटो काटिरहेको अवस्थामा निज पैदल यात्री थापालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।”
ठक्कर दिने मिनी ट्रक चालक भक्तपुर मध्यपुर नगरपालिका-८ बस्ने ५५ वर्षीय सुरामान शाहुलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही सुरु गरेको प्रवक्ता सुवेदीले बताए ।







