काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ भनिएकाहरू पनि पुरानाजस्तै काम नलाग्ने रहेको दाबी गरेका छन् । उनीहरूमा सत्ताको मोह र प्रतिशोधको विचार मात्र रहेको उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच लामो छलफलपछि आइतबार बिहान सातबुँदे सम्झौता भएसँगै सामाजिक सञ्जालमार्फत भिडियो प्रतिक्रिया दिँदै साम्पाङले यस्तो बताएका हुन् ।
श्रम संस्कृति बाहेकका अन्य सबै नयाँ पार्टी पुरानाजस्तै काम नलाग्ने रहेको उनको दाबी छ । ‘पुराना पनि काम नलाग्ने हुन् । श्रम संस्कृतिबाहेक अहिलेका पनि उस्तै हुन् । कसैसँग यो देशप्रति, जनताप्रति माया छैन,’ उनले भनेका छन्, ‘छ भने सत्ताको कुर्सीसँग माया छ र प्रतिशोध साँध्ने विचार छ । हामीलाई प्रतिशोधको राजनीति चाहिएको होइन ।’
साम्पाङले विदेशी डलरबाट पालिएका र भ्रष्टाचार गरेर कोठामा पैसा थुपारेकाहरूले श्रम संस्कृति पार्टी पनि अरू कुनै दलसँग मिल्छ भनेर अफवाह फैलाइरहेको जिकिर गर्दै कसैसँग नमिल्ने बताएका छन् ।







