कृषि पेशामा आश्रित परिवारमा हुर्किएकी मेनकालाई अभिभावक र दाजुको निरन्तर साथले सफलतासम्म पुर्याएको हो। तीन महिना मात्रै लोक सेवा तयारी गरेर पहिलो प्रयासमै सफलता पाउन सकेको उनको अनुभव छ।
काठमाडौँ । कुनै समय अरूको सफलताको कथा सुनेर मनमनै सरकारी सेवाको सपना बुनेकी दैलेखको दुल्लु नगरपालिका-९ की मेनका योगी आज आफैँ प्रेरणाको कथा बनेकी छन्। १९ वर्षकै उमेरमा उनले निजामती सेवाको नायब सुब्बा पदमा नाम निकाल्दै आफ्नो संघर्ष, आत्मविश्वास र मेहनतलाई सफलतामा रूपान्तरण गरेकी छन्।
लोक सेवा आयोग जलेश्वर कार्यालयको विज्ञापन नं. ११३०१/०८१(८२) (खुला), नेपाल न्याय सेवा, न्याय समूह, राजपत्रअनंकित प्रथम श्रेणी नायब सुब्बा वा सो सरह पदमा मेनका योगी सिफारिस भएकी हुन्। लोक सेवा आयोगले उनलाई उच्च अदालत जनकपुर कार्यालयमा सिफारिस गरेको छ।
ग्रामीण परिवेशमा हुर्किएकी मेनकाको परिवार कृषि पेशामा आश्रित छ। बुवा लक्ष्मणनाथ योगी र आमा जगतकुमारी योगीले सीमित साधनका बाबजुद पनि छोरीको पढाइमा कहिल्यै कमी हुन दिएनन्। अभिभावकको त्यही निरन्तर साथ र विश्वास नै आजको सफलताको आधार बनेको मेनका बताउँछिन्।
लोक सेवा तयारीको यात्रामा दाजु भूपेन्द्र योगी मेनकाका सबैभन्दा ठूला सहारा बने। करिब तीन महिना मात्रै लोक सेवा तयारी कक्षा लिएर पहिलो प्रयासमै सफलता हासिल गर्न सकेको अनुभव सुनाउँदै उनी भन्छिन्, “कोसिस र निरन्तर मेहनत गरे असम्भव केही हुँदैन।”
हाल स्नातक तहमा अध्ययनरत मेनका योगीले पढाइसँगै सरकारी सेवाको जिम्मेवारी पनि सम्हाल्ने योजना बनाएकी छन्। सरकारी सेवामार्फत देशको सेवा गर्दै उज्ज्वल भविष्य निर्माण गर्ने लक्ष्यसहित उनले मुख्यसचिवसम्म पुग्ने सपना देखेकी छन्।
परिवारमा यसअघि सरकारी सेवामा कोही नभए पनि अरूको सफलताबाट प्रेरित भएर सरकारी जागिर खाने सपना बोकेकी मेनकाले त्यही सपना पूरा गरेर देखाएकी छन्। पहिलो पटकमै लोक सेवामा नाम निस्कँदा परिवारसँगै आफू पनि अत्यन्त खुसी भएको उनी बताउँछिन्।
हाल उनका दाजु पनि सरकारी सेवाको तयारीमा जुटिरहेका छन्। मेनका योगीको सफलताले दैलेख मात्र होइन, देशभरका ग्रामीण युवायुवतीलाई आत्मविश्वासका साथ अघि बढ्न थप प्रेरणा दिएको छ।







