काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकले उनलाई प्रहरी नेतृत्वबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले कानुनी उपचार खोजेका हुन्।
कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवर बिहीबार सर्वोच्च अदालत पुगेका हुन्। कुँवरले रिट लिएर अदालत पुगेको अदालत स्रोतले प्रशासनलाई जानकारी दिए । औपचारिक रूपमा दर्ता भइसकेको भने पुष्टि भएको छैन।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक बनाएको थियो। केसीले सोही दिन दर्ज्यानी चिह्न प्राप्त गरी कार्यभारसमेत सम्हालिसकेका छन्।
नियमित कार्यकाल पूरा हुनुअघि नै प्रहरी नेतृत्वबाट हटाइएपछि कार्कीले सरकारको निर्णयलाई अदालतमा चुनौती दिने बाटो रोजेका हुन्। उनको रिटको विषयवस्तु र मागबारे औपचारिक विवरण सार्वजनिक भइसकेको छैन।





