काठमाडौँ । आगामी फागुन २१ गते तय भएको निर्वाचनलाई केन्द्रमा राख्दै गृह मन्त्रालयले इजाजत लिई राखिएका हतियार अस्थायी रूपमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ। निर्वाचन सुरक्षालाई व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यसहित देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत यस्तो आग्रह गरिएको हो।
गृहको निर्देशन अनुसार ७७ वटै जिल्लामा रहेका प्रशासनिक निकायले आ-आफ्नो क्षेत्राधिकारभित्र रहेका हतियार धनीलाई हतियार बुझाउन सूचना प्रकाशित गरेका छन्। निर्वाचनको संवेदनशील समयमा लाइसेन्स प्राप्त हतियारसमेत सुरक्षा जोखिमको कारण बन्न सक्ने आकलनका आधारमा यस्तो कदम चालिएको प्रशासनको भनाइ छ।
प्रशासनले प्रत्येक निर्वाचनको समयमा यस्तै प्रकृतिका सावधानीमूलक व्यवस्था गर्दै आएको उल्लेख गर्दै यसलाई नियमित सुरक्षात्मक अभ्यासका रूपमा लिइएको जनाएको छ।
यसैबीच, गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता ल्याउने प्रक्रिया पनि जारी रहेको जनाइएको छ। प्रहरी प्रशासनले ती हतियार खोजी तथा फिर्ता गर्न सक्रिय रूपमा काम गरिरहेको जानकारी दिएको छ।







