काठमाडौँ । निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सिके राउत, गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारलाई स्पष्टीकरण सोधेको छ।
राउत सप्तरी-२, अधिकारी काठमाडौँ-५ र सुनार बाँके-३ का प्रतिनिधि सभाका उम्मेदवार हुन्।
निर्वाचन आयोगका स्रोतका अनुसार आयोगले उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघन लगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो।
राउतविरुद्ध आफ्नो निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटो) मा आफ्नो निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्ने उजुरी छ।
त्यस्तै अधिकारीविरुद्ध विदेश (अस्ट्रेलिया) मा रहेका नेपालीलाई स्वयंसेवक आवेदन फाराम पठाई क्युआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने विवरण पठाएको भन्ने उजुरी छ।
सुनारविरूद्ध राष्ट्रिय जनावर गाईलाई लिएर साम्प्रदायिक विद्वेष फैलाउने गरी सूचना प्रवाह गरेको भन्ने उजुरी छ।
उनीहरूलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ।







