काठमाडौँ । गुल्मीका नौ स्थानीय तहले मगर समुदायको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार (१५ फागुन) सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। सम्बन्धित स्थानीय तहहरूले अलग-अलग सूचना जारी गर्दै उक्त दिन कार्यालय तथा सार्वजनिक सेवासम्बद्ध निकायहरू बन्द रहने जानकारी दिएका हुन्।
बिदा दिने स्थानीय तहहरूमा कालीगण्डकी गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका तथा रेसुंगा नगरपालिका रहेका छन्।
जिल्लामा कुल १२ स्थानीय तह रहेको भए पनि नौ तहले ४४औँ राष्ट्रिय मगर एकता दिवसका सन्दर्भमा बिदा कार्यान्वयन गर्ने जनाएका छन्। जारी सूचनाअनुसार बिदा सम्बन्धित पालिकाभित्रका वडा कार्यालय, स्वास्थ्य चौकी, शैक्षिक संस्था तथा सार्वजनिक संघ-संस्थाहरूमा लागू हुनेछ।







