काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका सबै उम्मेदवार तथा राजनीतिक दललाई अनिवार्य रूपमा बैंक खाता सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म सीमित सङ्ख्याले मात्र खाता खोलेको पाइएको छ।
निर्वाचन आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ जनामध्ये एक हजार ८६५ उम्मेदवारले मात्र बैंक खाता सञ्चालन गरेका छन्। त्यस्तै, निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये ११ दलले मात्र खाता खोलेका छन्।
हालसम्म खाता खोल्ने दलहरूमा नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिएकी छन्।
निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने आर्थिक सहयोगको पारदर्शिता कायम गर्न, खर्च सीमाको पालन सुनिश्चित गर्न तथा प्रभावकारी अनुगमनका लागि बैंक खातामार्फत मात्र आर्थिक कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ ले समानुपातिक र प्रत्यक्ष दुवै प्रणालीअन्तर्गत उम्मेदवारी दिएका दल, उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई खाता खोल्न अनिवार्य गरेको छ।
उक्त कार्यविधिअनुसार निर्वाचनसम्बन्धी सबै आम्दानी र खर्च सम्बन्धित बैंक खातामार्फत सञ्चालन गर्नुपर्ने प्रावधान छ। आयोगले सोही व्यवस्थाको कार्यान्वयन अवस्थाबारे नियमित निगरानी गरिरहेको जनाएको छ।







