काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन उत्साहजनक सहभागितासहित ऐतिहासिक रूपमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै सम्पूर्ण नेपाली जनतालाई बधाइ दिएकी छिन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् लोकतान्त्रिक तथा संविधान सम्मत निकास दिने प्रक्रियामा नागरिकको सक्रिय सहभागिता महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन्।
निर्वाचन सफल बनाउन सहयोग गर्ने विभिन्न पक्षप्रति उनले धन्यवाद व्यक्त गरेकी छिन्। निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको वफादारिता, मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल तथा उम्मेदवारहरूको सकारात्मक सहयोग, अन्तर्राष्ट्रिय समुदायको साथ र समर्थन तथा सञ्चार माध्यमको जिम्मेवार खबरदारीका लागि उनले धन्यवाद दिएको उल्लेख गरेकी छिन्।
यसैगरी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरू, घाइते योद्धाहरू तथा आन्दोलनकारी नवयुवाको त्याग, संयम, समझदारी र लोकतन्त्रप्रतिको समर्पणप्रति उनले उच्च सम्मान व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपतिप्रति पनि कृतज्ञता व्यक्त गरेकी छिन्।







