काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले सरकारले गठन गरेको सम्पत्ति छानबिनसम्बन्धी आयोगको कार्यक्षेत्रमा आफूहरू पनि पूर्ण रूपमा समेटिएको बताएका छन् ।
लामिछानेले आयोगले प्रारम्भिक चरणदेखि नै सबै पक्षको सम्पत्तिबारे अनुसन्धान अघि बढाउने स्पष्ट संकेत दिएको उल्लेख गरेका छन् ।
पत्रकारहरूसँगको कुराकानीमा उनले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सम्पत्ति विवरणसँगै आयस्रोतसमेत खुलाउनुपर्ने व्यवस्था रहेको दाबी गरेका छन् । साथै, आवश्यकता परेमा छानबिनका लागि आयोग गठन गरिएको भन्दै प्रक्रियागत रूपमा सबै जना यसको दायरामा पर्ने उनको भनाइ थियो ।
लामिछानेका अनुसार आयोगको कार्यादेश (टीओआर) अनुसार सबै सम्बन्धित व्यक्तिहरू प्रारम्भिक चरणदेखि नै अनुसन्धानको दायरामा परिसकेका छन् । उनले आफ्नो बैंक विवरणसमेत सार्वजनिक रहेको उल्लेख गर्दै पारदर्शिताको सवालमा कुनै अपवाद नहुने स्पष्ट पारेका छन् ।
उनले कानून सबैका लागि समान हुने भएकाले आफूहरू पनि त्यही दायराभित्र पर्ने र छानबिन प्रक्रियाबाट बाहिर नहुने धारणा व्यक्त गरेका छन् ।







