काठमाडौँ । देशका विभिन्न प्रमुख राजमार्गहरूमा आएको बाढी र पहिरोका कारण यातायात सञ्चालनमा समस्या देखिएको छ।
नेपाल प्रहरीले अपराह्न साढे १ बजेसम्म संकलन गरेको विवरणअनुसार पाँच वटा राजमार्गका विभिन्न खण्डमा यातायात अवरुद्ध वा सीमित रूपमा सञ्चालन भइरहेको छ। तीमध्ये दुई खण्ड पूर्ण रूपमा बन्द रहेका छन् भने तीन खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
बाढीका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका-५ स्थित बोखिम क्षेत्रमा सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ।
त्यसैगरी पहिरोका कारण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको मकालु गाउँपालिका-३ नयाँबस्ती खण्डमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
यता बीपी राजमार्गको काभ्रेपलाञ्चोकस्थित खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा भने सबै प्रकारका सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
त्यस्तै बेनी-जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ जलथले क्षेत्रमा सवारी साधनहरू आंशिक रूपमा मात्र सञ्चालनमा छन्।
साथै हिल्सा-सिमकोट सडक अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका-२ क्षेत्रमा पनि यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ।








