काठमाडौँ । उच्च शिक्षाका लागि विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न शैक्षिक परामर्श केन्द्रमा कारबाही गर्दै ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्राप्त उजुरी, गुनासो तथा निवेदनका आधारमा शुक्रबार काठमाडौँका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको जनाएको छ।
प्रहरीका अनुसार आवश्यक मापदण्ड पूरा नगरी, दर्ता नवीकरण नगरी तथा अनुमति नलिई शैक्षिक परामर्श, भाषा शिक्षण र विदेश अध्ययन पूर्वतयारी कक्षासम्बन्धी सेवा सञ्चालन गरिरहेका केन्द्रका सञ्चालकहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
विदेश अध्ययनको नाममा आर्थिक ठगी तथा भ्रमपूर्ण आश्वासन दिएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीमा परेको वा प्रभावित भएको व्यक्तिलाई आवश्यक विवरणसहित सम्पर्कमा आउन प्रहरीले सार्वजनिक आग्रहसमेत गरेको छ।








