काठमाडौँ । नेपाल-भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर नेकपाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग औपचारिक धारणा सार्वजनिक गर्न माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको भनाइप्रति रास्वपाको दृष्टिकोण के हो भन्ने प्रश्न उठाएका हुन्।
यसअघि आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद संवाद र कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
सोही क्रममा उनले नेपालले पनि केही स्थानमा भारतको भूमि उपयोग गरिरहेको विषय आफूले प्रधानमन्त्री बनेपछि जानकारी पाएको आशयको अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीको उक्त भनाइ सार्वजनिक भएपछि विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षबाट प्रतिक्रिया आइरहेका छन्। यही सन्दर्भमा नेकपाले संसदमार्फत सत्तारुढ दल रास्वपासँग स्पष्ट राजनीतिक धारणा प्रस्तुत गर्न माग गरेको हो।







