काठमाडौँ । बजेटमा संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलका सांसदले निरन्तर अवरोध गरेपछि मधेश प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
बिहीबार बसेको प्रदेश सभा बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीका सांसदले बजेटप्रति असहमति जनाउँदै बैठक सञ्चालन हुन नदिएका हुन्।
बैठकमा धारणा राख्दै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले ठूलो आकारको बजेट प्रस्तुत गर्ने दाबी गरे पनि व्यवहारमा साना तथा छरिएका योजनामै केन्द्रित बजेट ल्याएको आरोप लगाए। उनले यस्तो बजेटले संघीय शासन प्रणालीप्रति जनविश्वास कमजोर बनाउने दाबी गर्दै बजेट परिमार्जन नभएसम्म दुवै प्रतिपक्षी दलले सदन सञ्चालन हुन नदिने अडान दोहोर्याए।
त्यसैगरी, जसपा नेपालका सांसद उपेन्द्र महतोले पनि बजेटमा आवश्यक संशोधन गर्न वा त्यससम्बन्धी विषयमा छानबिन समिति गठन गर्नुपर्ने माग राखे। यीमध्ये कुनै एक प्रक्रिया अघि बढेपछि मात्रै प्रदेशसभा बैठक सञ्चालन गर्न सहमत हुने उनको भनाइ थियो।
प्रतिपक्षी सांसदको अवरोध कायम रहेपछि सभामुख रामअशिष यादवले प्रदेशसभा बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको घोषणा गरे।
यसअघि बुधबार बजेटमाथिको छलफलका लागि बोलाइएको बैठक पनि यही विषयलाई लिएर भएको अवरोधपछि प्रारम्भिक रूपमा १० मिनेटका लागि स्थगित गरिएको थियो।






