काठमाडौँ । जुम्ला सिँचाइ कार्यालयमा स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति हुन नसक्दा सेवा प्रवाह प्रभावित भएको छ। विशेष गरी प्राविधिक जनशक्तिको अभावका कारण कार्यालयका नियमित कामकारबाहीमा समस्या देखिएको कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख अंकलबहादुर महतका अनुसार कार्यालयमा स्वीकृत २१ दरबन्दीमध्ये हाल ११ पदमा मात्र कर्मचारी कार्यरत छन् भने बाँकी १० पद लामो समयदेखि रिक्त रहेका छन्।
उनले प्राविधिकतर्फका पदहरू रिक्त रहँदा सेवा प्रवाहमा ढिलाइ हुने गरेको र त्यसको असर सेवाग्राहीले समेत भोग्नुपरेको बताए। उनका अनुसार कर्मचारी अभावका कारण जनगुनासोसमेत बढ्दै गएको छ।
कार्यालयमा अधिकृत छैटौँ तहका दुई इन्जिनियर, पाँचौँ तहका तीन सव-इन्जिनियर, चौथो तहका तीन प्राविधिक सहायक तथा दुई ऊर्जा प्राविधिकको पद हाल रिक्त रहेको जनाइएको छ।
कार्यालयले स्वीकृत दरबन्दीअनुसार आवश्यक कर्मचारीको पदपूर्ति हुन सके सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरेको छ।






