काठमाडौँ । प्रतिनिधि सभाको जेठ १७ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ समितिले उक्त घटनामा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकालेको छ।
समितिले सभाको गरिमा र अनुशासन कायम राख्न सभामुखले आफ्नो विशेषाधिकार प्रयोग गर्दै प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिएको छ।
प्रतिवेदनमा संसद् बैठकमा अमर्यादित, उत्तेजक वा मर्यादा विपरीत अभिव्यक्ति दिइएको अवस्थामा प्रतिनिधि सभा नियमावलीमा रहेका व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।
समितिले त्यस्ता अभिव्यक्तिलाई संसद्को आधिकारिक अभिलेखबाट हटाउने, सम्बन्धित सदस्यलाई सचेत गराउने तथा आवश्यक परे बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सभामुखलाई सुझाव दिएको हो।
संसदीय अभ्यास, मर्यादा र संस्थागत गरिमा जोगाउन नियमको पालना अनिवार्य रहेको उल्लेख गर्दै समितिले आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति रोक्न स्पष्ट र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको औँल्याएको छ।







