काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ को अन्तिम महिना असारमा सरकारी खर्च उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्षको समापनसँगै विकास तथा पुँजीगत कार्यक्रमको भुक्तानी तीव्र बनाउने पुरानै प्रवृत्ति यस वर्ष पनि दोहोरिएको देखिएको छ। असार महिनामा मात्रै कुल बजेटको करिब ११ प्रतिशत खर्च भएको छ भने एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँ निकासा गरिएको छ।
सरकारी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको कुल १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ। यो कुल विनियोजित बजेटको ७९.०४ प्रतिशत हो।
यस आर्थिक वर्षमा बजेट कार्यान्वयनको जिम्मेवारी तीन जना अर्थमन्त्रीले सम्हालेका थिए। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गरेका थिए भने त्यसपछि अर्थ मन्त्रालयको नेतृत्व पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनाल र अर्थविद् डा. स्वर्णिम वाग्लेले गरेका थिए। तीन फरक नेतृत्वबाट बजेट कार्यान्वयन भए पनि समग्र खर्च भने कुल विनियोजनको ७९.०४ प्रतिशतमा सीमित रहेको देखिएको छ।







