काठमाडौँ । दोलखाको कालिन्चोक गाउँपालिका-१ अन्तर्गत क्याङ्पोल क्षेत्रमा आइतबार राति गएको पहिरोमा परी चार महिनाकी बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।
करिब ९ बजे सुनखानी-साङवा सडक खण्डको क्याङ्पोल-हेलेक्पाथाली आसपास खसेको पहिरोले स्थानीय दीपेन्द्र थामीकी पत्नी १९ वर्षीया शर्मिला थामी र उनकी चार महिनाकी छोरी एलिना थामीलाई बगाएको हो।
घटनालगत्तै स्थानीयवासीले उद्धार गरी दुवैलाई उपचारका लागि पहिलो चरणमा दोलखा अस्पताल पुर्याएका थिए। त्यसपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो।
धुलिखेल अस्पतालमा उपचारका क्रममा चिकित्सकले चार महिनाकी एलिना थामीलाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते भएकी शर्मिला थामीलाई थप उपचारका लागि काठमाडौँस्थित अस्पतालमा रिफर गरिएको कालिन्चोक गाउँपालिका-१ का वडाध्यक्ष पदम थामीले जानकारी दिए।







