काठमाडौँ । कोशी प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको नेपाली काँग्रेसले तत्कालका लागि उक्त प्रक्रिया अघि नबढाउने भएको छ।
काँग्रेस कोशी प्रदेश समितिका सभापति तथा प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार बसेको प्रदेशस्तरीय बैठकले मन्त्री फिर्ता बोलाउने विषयमा छलफल गरेको थियो। तर बैठककै क्रममा पार्टी केन्द्रीय नेतृत्वबाट प्राप्त निर्देशनपछि तत्काल निर्णय नगर्ने निष्कर्ष निकालिएको हो।
बैठकले प्रदेश सभापति थापा र काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई केन्द्रसँग थप समन्वय र परामर्श गर्ने जिम्मेवारी दिएको छ। केन्द्रीय तहबाट स्पष्ट निर्णय आएपछि पुनः बैठक बसेर आवश्यक कदम चालिने थापाले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेकपा (एमाले) सँगको राजनीतिक सहकार्य अब समाप्त भइसकेको धारणा व्यक्त गरे।
उनले सरकारमा सहभागी काँग्रेसका मन्त्रीहरूको विषयमा भने केन्द्रीय नेतृत्वसँगको छलफलपछि मात्र अन्तिम निर्णय गरिने स्पष्ट पारे।







