काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गरिने कार्यस्थलमा आधारित तालिम तथा प्रशिक्षार्थी (अप्रेन्टिससिप) कार्यक्रमलाई प्रभावकारी बनाउन निजी क्षेत्रसँग विस्तृत छलफल गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा भएको छलफलमा सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नयाँ नीति, कार्यक्रम र सहकार्यको ढाँचा तयार पार्ने विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ।
मन्त्री यादवले आन्तरिक रोजगारी सिर्जना र सीप विकासलाई प्रभावकारी बनाउन सरकार निजी क्षेत्रसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए। निजी क्षेत्रलाई केवल परामर्शदाताका रूपमा नभई नीति तथा कार्यक्रम कार्यान्वयनको साझेदारका रूपमा अघि बढाइने उनको भनाइ थियो।
मन्त्रालयले आगामी आर्थिक वर्षमा १२ भन्दा बढी आन्तरिक रोजगारीसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। ती कार्यक्रमअन्तर्गत कार्यस्थलमै आधारित प्रशिक्षार्थी तालिम सञ्चालन गरिने तथा हाल सञ्चालनमा रहेको ‘श्रम संसार’ अनलाइन पोर्टललाई थप व्यवस्थित बनाइने जानकारी पनि बैठकमा दिइएको थियो।
छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले तालिम कार्यक्रम श्रम बजारको वास्तविक मागसँग मेल खाने खालको हुनुपर्ने धारणा राखे। उनीहरूले पाठ्यक्रम निर्माण, सीप प्रमाणीकरण तथा प्रशिक्षार्थी व्यवस्थापनमा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
बैठकमा बजारको आवश्यकता अनुरूप कार्यविशिष्ट तालिमलाई प्राथमिकता दिने, प्रशिक्षार्थी राख्ने साना उद्योगलाई विद्युत् जडान, कर तथा घर भाडामा सहुलियत उपलब्ध गराउने, रोजगारीमा लैंगीक सन्तुलन कायम गर्ने रोजगारदातालाई प्रोत्साहन गर्ने तथा महिला उद्यमीका लागि इजाजत प्रक्रियालाई सहज बनाउने विषयमा पनि छलफल भएको थियो।
देशभित्र कार्यरत युवामाझ वैदेशिक रोजगारीप्रतिको आकर्षणलाई ध्यानमा राख्दै स्वदेशमै अवसर सिर्जना गर्ने रणनीतिबारे समेत बैठकमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
बैठकमा संघीय संसद्का सदस्य विदुषी राणा र अनुष्का श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा मन्त्रालयका सहसचिवहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
छलफलको निष्कर्षमा तालिमपछि रोजगारी सुनिश्चित गर्ने प्रणाली विकास गर्न तथा श्रम बजारको समग्र चक्रलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच संस्थागत सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।







