काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
परिषद्को २०औँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री यादवले कार्यक्रमहरूलाई औपचारिकतामा मात्र सीमित नराखी नतिजामुखी बनाउन जोड दिए।
उनले भने, “परिषद्का वार्षिक कार्यक्रमको स्पष्ट मोडालिटी विकास गरी, त्यसले समाजमा पार्ने प्रभाव देखिने गरी पेस गर्नुहोस् । प्रभावकारी मोडालिटी तयार भएपछि मात्र कार्यक्रमहरूलाई गति दिइनेछ ।”
वार्षिक कार्यक्रमहरू कार्यान्वयनका लागि नयाँ मोडालिटी विकास गर्ने, कार्यक्रम सञ्चालन गर्दा त्यसको वास्तविक प्रतिफल र प्रभाव देखिने गरी काम गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा उद्योग, अर्थ, कृषि तथा वन, स्वास्थ्य, शिक्षा र श्रम मन्त्रालयका सचिव तथा सहसचिवहरूका साथै योजना आयोगका सचिवको समेत उपस्थिति रहेको थियो ।







