काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाइने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुँजी बजारसँग सम्बन्धित सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग भएको छलफलमा उनले पुँजी बजारलाई थप व्यावसायिक, व्यवस्थित र मर्यादित बनाउने दिशामा सरकारले आवश्यक सहजीकरण गर्ने बताएका हुन्।
पुँजी बजारमार्फत उद्यम विकास र लगानी विस्तारको वातावरण तयार गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस क्षेत्रमा सक्रिय व्यवसायी तथा संस्थाहरूलाई उच्च आत्मविश्वासका साथ काम गर्न आग्रह गरे । उनले राम्रो काम गर्ने पक्षलाई राज्यबाट निरन्तर सहयोग हुने तर अनियमितता वा कमजोरी गर्नेप्रति कडा नीति अपनाइने स्पष्ट पारे ।
छलफलमा सहभागी पुँजी बजारका प्रतिनिधिहरूले बजारको दीर्घकालीन विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्राविधिक सुधार आवश्यक रहेको धारणा राखेका थिए ।
उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रणालीलाई प्रभावकारी बनाउन, दोस्रो बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी उचित मूल्य निर्धारणको आधार तयार गर्न तथा दैनिक कारोबारको आकार विस्तार गर्ने वातावरण बनाउन सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।
सरोकारवालाहरूले मार्जिन कारोबारका लागि बैंक तथा वित्तीय संस्थाबाट ब्रोकर कम्पनीलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकबाट आवश्यक पहल हुनुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै, धितोपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी बिक्री गर्नुपर्ने समय सीमासम्बन्धी व्यवस्था पुनरावलोकन गर्न तथा सेयर धितो कर्जाको सीमा निर्धारण गर्दा प्राथमिक पुँजीको सट्टा कुल कर्जाको निश्चित प्रतिशतका आधारमा व्यवस्था गर्न आग्रह गरिएको छ ।
उनीहरूले व्यक्तिगत लगानीकर्ताले व्यहोरेको घाटामा कर समायोजनको सुविधा उपलब्ध गराउन, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा सक्रिय बनाउन, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रणनीतिक साझेदारसहित पुनर्संरचना गर्न तथा गैरआवासीय नेपालीलाई नेपाली पुँजी बजारमा लगानी गर्ने अवसर विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।
छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेललगायत सहभागी थिए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाबाट प्राप्त सुझावलाई समेट्दै आर्थिक वर्ष २०८३-८४ को पुँजी बजार नीति तथा ‘नेपालको पुँजी बजार मार्गचित्र २०८३’ कार्यान्वयनमा ल्याइएको जानकारी दिए । ती नीतिमा समावेश कार्यक्रमलाई चरणबद्ध कार्ययोजनासहित अघि बढाइएको उनको भनाइ थियो ।
त्यसैगरी नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्र र पुँजी बजार सुधारसँग सम्बन्धित आवश्यक कानुन निर्माण तथा संशोधन प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।
नेप्सेको पुनर्संरचनाका लागि उपयुक्त ढाँचा तय गरी अघि बढ्ने उल्लेख गर्दै उनले धितोपत्र बोर्डका नीतिअनुसार कारोबार प्रणालीलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।







