काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित एक होटेलको कोठामा महिला मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार साउन ३ गते बिहान करिब ११ बजे मित्र नगरमा रहेको होटेल माउन्टेन एल्सिभाको चौथो तलाको एक कोठामा महिला मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ तथा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको थियो।
घटनामा संलग्न व्यक्तिहरूको खोजतलासका क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा जुम्लाको चन्दननाथ गाउँपालिका–१ स्थायी घर भई हाल नेपालगञ्ज उपमहानगरपालिकामा बसोबास गर्ने २० वर्षीय दानबहादुर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, दैलेखको डुंगेश्वर गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-३ महाराजगञ्जमा बस्दै आएका रमेश बुढालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। मृतक महिलाको परिचय तथा घटनाको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।







