काठमाडौँ । फिफा विश्वकपको फाइनल खेल हेर्न सरकारी सवारीसाधन प्रयोग गर्दै वडा कार्यालयभित्रै भोजसहितको कार्यक्रम आयोजना गर्ने तयारी भएपछि सुनसरीको बर्जु गाउँपालिका–१ मा विवाद भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी, लेखा शाखा प्रमुख बिपलव घिमिरे, पालिकाका केही कर्मचारी तथा जनप्रतिनिधि वडा कार्यालयमा भेला भई भोजसहित विश्वकपको फाइनल खेल हेर्ने तयारीमा थिए। उक्त कार्यक्रममा वडा नं. १ का अध्यक्ष दिलबहादुर गुरुङ तथा पूर्व वडा नं. ३ का अध्यक्ष प्रदीप चौधरी समेत सहभागी रहेको पालिका स्रोतले जानकारी दिएको छ ।
सरकारी सवारीसाधन प्रयोग गरी वडा कार्यालयमै यस्तो कार्यक्रम आयोजना गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएपछि वडा कार्यालयमा विवाद उत्पन्न भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष अजयकुमार चौधरीले जानकारी दिए ।
घटनाबारे गाउँपालिकाले औपचारिक रूपमा आवश्यक जानकारी संकलन गरिरहेको उनले बताए । उनका अनुसार स्थानीयले पनि विश्वकप हेर्न पाउनुपर्ने माग गरेपछि विवाद सिर्जना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनले आफू हाल आफ्ना बुबाको उपचारका लागि अस्पतालमा रहेकाले घटनास्थलमा उपस्थित हुन नसकेको, स्थानीय तथा आफन्तमार्फत घटनाबारे जानकारी पाएको बताए।
प्रवक्ता चौधरीले गाउँपालिका अध्यक्षसँग समेत घटनाबारे छलफल भइसकेको उल्लेख गर्दै घटनाको छानबिन गरी तथ्यका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।







