काठमाडौँ। सर्वोच्च अदालतले नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधबार सरकारका नाममा उक्त आदेश दिएको हो। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउने निर्णयसमेत गरेको छ।
सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। उनले गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएका थिए।
कपिलवस्तु क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहविरुद्ध कुटपिटसम्बन्धी आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सोही विषयमा उनले सर्वोच्चमा कानुनी उपचार माग गरेका हुन्।







