काठमाडौँ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि छनोट प्रक्रियाअन्तर्गत संक्षिप्त सूचीमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता बिहीबार आयोजना हुँदैछ।
प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि गठित सिफारिस समितिको कार्यालयका अनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारको रणनीतिक तथा व्यावसायिक कार्ययोजनाको मूल्यांकन प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत गरिनेछ।
संक्षिप्त सूचीमा सुमनमान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखतबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल रहेका छन्।
अर्थ मन्त्रालयमा हुने प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि प्रत्येक उम्मेदवारको छुट्टाछुट्टै समय तालिका तय गरिएको सिफारिस समितिले जनाएको छ।
समितिले उम्मेदवारलाई तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि उपस्थित हुन आग्रह गरेको छ। साथै, व्यावसायिक कार्ययोजनाको सफ्टकपी र आवेदनका क्रममा पेश गरिएका सम्पूर्ण कागजातको सक्कल प्रतिसहित उपस्थित हुन निर्देशन दिइएको छ।
प्रत्येक उम्मेदवारका लागि रणनीतिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तासहित कुल एक घण्टाको समय निर्धारण गरिएको छ।







