काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागु औषध गाँजासहित दुई भारतीय महिला पक्राउ परेका छन् ।
लागु औषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा भारतको मणिपुर राज्यका २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन् ।
ब्युरोका सह प्रवक्ता जीवन निरौलाका अनुसार थाइल्यान्डको बैंककबाट थाई एयरको उडान नम्बर टीजी ३०९ मार्फत काठमाडौँ आएका उनीहरूलाई विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार उनीहरूले ल्याएको सुटकेसभित्र लुकाइएको आठ किलोग्राम थाई गाँजा बरामद गरिएको छ । उनीहरूको साथबाट दुई थान राहदानी र दुई थान मोबाइल फोनसमेत फेला परेको ब्युरोले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि लागु औषधसम्बन्धी कानुनअनुसार आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ ।







