काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिका–स्थित कालापानी क्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीमाथि भएको आक्रमणको विरोधमा वातावरण संरक्षणकर्मीहरूले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।
घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै बिहीबार माइतीघर मण्डलामा धर्ना दिइएको हो। प्रदर्शनका क्रममा सहभागीहरूले वन कर्मचारीको सुरक्षा, घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्यायको माग गरेका थिए।
वातावरण संरक्षण अभियन्ता सुनिल यादवले घटना भएको लामो समय बितिसक्दा पनि दोषीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार करिब दुई महिनाअघि कालापानी क्षेत्रमा वन अतिक्रमण हटाउने प्रयोजनका लागि सूचना टाँस गर्न पुगेका डिभिजन वन कार्यालयका अधिकृत श्वेता झा, सुमन श्रेष्ठसहित सात जना कर्मचारीलाई स्थानीय समूहले नियन्त्रणमा लिई केही घण्टा बन्धक बनाएको थियो।
यादवले कर्मचारीमाथि मानसिक दबाब दिइएको र सरकारी प्रयोजनमा प्रयोग भएको सवारी साधनमा आगजनी गरी क्षति पुर्याइएको दाबी गरे। घटनामा संलग्न व्यक्तिहरूलाई राजनीतिक संरक्षण रहेको आरोप लगाउँदै उनले मधेश प्रदेश सरकारले आवश्यक पहल नगरेको बताए।
उनले वास्तविक भूमिहीन तथा सुकुम्बासीको समस्या राज्यले समाधान गर्नुपर्ने भए पनि त्यही नाममा वन क्षेत्र अतिक्रमण गर्ने व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखे।
अभियन्ता यादवले विगतका अन्य घटनामा सरकारी कर्मचारीको भूमिकालाई लिएर तत्काल कारबाही हुने गरेको उल्लेख गर्दै महोत्तरी घटनामा भने सात जना कर्मचारीलाई नियन्त्रणमा लिइएको र सरकारी सवारी साधन जलाइएको विषयमा समेत दोषी पक्राउ नपर्नु असमान व्यवहार भएको टिप्पणी गरे।
उनका अनुसार घटनाका दोषीमाथि कारबाहीको माग गर्दै यसअघि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको छ। माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनले दिए।
प्रदर्शनमा सहभागीहरूले कालापानी घटनाका पीडित वन कर्मचारीलाई न्याय दिनुपर्ने, घटनामा संलग्नलाई पक्राउ गर्नुपर्ने लगायतका माग उल्लेख गरिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।






