काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउन नहुने बताएका छन् ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो यस्तो बताएका हुन् ।
उनले संविधान संशोधनको नाममा स्थानीय तहलाई निर्दलीय बनाउने र संघीय संरचना कमजोर बनाउने विषयमा भइरहेको बहसप्रति असन्तुष्टि जनाए ।
उनले संविधानको समीक्षा गरेर संघीय शासन व्यवस्थालाई थप सुदृढ बनाउने गरी संविधान संशोधन गरिनुपर्ने बताए । अध्यक्ष दाहालले संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा निर्दलीय प्रणाली प्रभावकारी अभ्यास नभएको उल्लेख गर्दै स्थानीय तहलाई निर्दलीय बनाउने प्रस्तावले सकारात्मक सन्देश नदिएको बताए ।
उनले अहिले सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको पनि बताए।
उनले भन्नुभयो,‘मुख्य कुरा के हो भने यो संसारमा कतैपनि निर्दलीयता हुन्छ जस्तो लाग्दैन । त्यसकारण संविधान संशोधनको विषय आइराख्दाखेरी स्थानीय तहलाई निर्दलीय बनाउने गरी जसरी बहस गरिएको छ । यसले राम्रो सन्देश दिएको छैन । भएको संघीयता खारेज गर्ने वा संघीयता सबलीकरण गर्ने भन्ने विषयमा गम्भीर बहस हुनुपर्छ । यसमा राष्ट्रिय सभाका समितिहरूले पनि छलफल गर्नुपर्छ । स्थानीय तह, प्रदेश तह र संघको बजेट बाँडफाँडको समस्या कहाँनिर हो ? त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ? सुशासन भनेको के हो ? कुनै व्यक्तिलाई जे मन लाग्यो त्यही बोलेर सुशासन हुने हो कि ?’
कुनै व्यक्तिले जे मन लाग्यो त्यही बोलेर सुशासन स्थापना नहुने उनको दाबी छ ।






