काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नीतिमा भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अव्यवस्थित पूर्वाधार, सेवा शुल्क र सुरक्षाकर्मीको व्यवहारप्रति आपत्ति जनाएकी छन् ।
विमानस्थलमा नागरिकले भोग्नुपरेका समस्याबारे बोल्दै उनले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी हुन् । बिहीवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा सांसद भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त कुर्न जाने सर्वसाधारणबाट शुल्क लिने परिपाटीको आलोचना गरिन् ।
विकसित मुलुकहरूमा शुल्क तिरेर सुविधासम्पन्न लाउन्जमा बस्ने विकल्प हुने भएपनि नेपालमा न्यूनतम पूर्वाधार समेत नभई शुल्क मात्र असुलिएको उनको तर्क छ । विमानस्थलमा कार्यरत निजी क्षेत्रका सुरक्षा गार्डहरूको व्यवहारप्रति पनि उनले प्रश्न उठाइन्। सुरक्षाकर्मीले आम नागरिकसँग गर्ने व्यवहार अत्यन्तै ‘निम्न स्तरको’ र ‘तुच्छ’ भएको भन्दै उनले नागरिकको मर्यादाको ख्याल गर्न आग्रह गरिन् । सुरक्षा एजेन्सीहरूले आफ्ना कर्मचारीलाई मर्यादित व्यवहारका लागि निर्देशित गर्नुपर्नेमा उनले जोड दिइन् ।
विमानस्थलको भौतिक पूर्वाधार र सुरक्षाका विषयमा टिप्पणी गर्दै सांसद भण्डारीले त्यहाँका र्याम्प र लिफ्टहरू जोखिमपूर्ण रहेको बताइन्। नेपाल आउने पर्यटक र वैदेशिक रोजगारीबाट फर्कने नेपालीका लागि विमानस्थल नै पहिलो प्रभाव हुने भएकाले यसको सुधारमा गम्भीर हुनुपर्ने उनको धारणा छ ।
जनताको दैनिक जीवन र राष्ट्रको प्रतिष्ठासँग जोडिएको यस विषयलाई संसदीय समितिले गम्भीरतापूर्वक लिनुपर्ने माग गर्दै उनले विमानस्थललाई सुरक्षित र नागरिकमैत्री बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘गाउँबाट आउने नागरिकहरू घण्टौँसम्म विमानस्थलमा कुर्नुपर्ने बाध्यता हुन्छ, तर उनीहरूका लागि उचित व्यवस्था छैन । विमानस्थलको र्याम्पको बनावट असुरक्षित छ, जहाँ चिप्लिएर लड्ने डर छ । हालै बनाइएको ठूलो लिफ्टमा पनि प्राविधिक र स्वास्थ्य सुरक्षाका दृष्टिले समस्या देखिएका छन् ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र सेवा शुल्कमा भइरहेको मनोमानीप्रति आपत्ति जनाए । सांसद खरेलले विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आईकाओ) को प्रतिवेदनलाई बेवास्ता गरिएको र नागरिकमाथि आर्थिक भार थपिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद खरेलले मुलुक ‘ग्रे लिस्ट’ मा पर्नुको एउटा कारण विमानस्थलको फितलो सुरक्षा व्यवस्था हुनसक्ने औँल्याउँदै आईकाओको प्रतिवेदन तत्काल अध्ययन गर्न माग गरे। विमानस्थलको भौतिक सुरक्षामा देखिएको गम्भीर त्रुटिबारे चर्चा गर्दै उनले व्यापारिक लाभका लागि सुरक्षा मापदण्ड मिचिएको बताए ।
उनले भने, ‘विमानस्थलको सुरक्षा संवेदनशीलताका विषयमा आईकाओले दिएको प्रतिवेदन अहिलेसम्म कसैले अध्ययन गरेको देखिँदैन । मन्त्रालय र विगतका संसदीय समितिहरूले पनि यसमा चासो देखाएनन् । विमानस्थलको ग्रिल काटेर होटल र आइएमएसको भवनमा जान सजिलो हुने गरी अनधिकृत गेट बनाइएको छ। यस्तो संवेदनशील ठाउँमा सुरक्षाको दृष्टिकोणले यो कति घातक छ, कसैले हेरेको छैन ।’
विमानस्थलमा पार्किङ र प्रतीक्षालयमा भइरहेको शुल्क असुलीप्रति पनि उनले आलोचना गरे।
विमानस्थलको अनुगमनका क्रममा आफ्नो आक्रोशलाई कतिपयले गलत अर्थ लगाएकोमा स्पष्ट पार्दै उनले राज्यको सम्पत्ति दोहन र नागरिकमाथिको शोषण देख्दा चुप बस्न नसकिने बताए।






