काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नागरिकको सुरक्षा, न्याय, रोजगारी तथा आधारभूत सेवा प्रवाहको अवस्था कमजोर बन्दै गएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै साम्पाङले राज्यले नागरिकलाई पहिलो प्राथमिकतामा सुरक्षा प्रदान गर्नुपर्ने बताए । पछिल्ला घटनाक्रमले सर्वसाधारणसँगै जनप्रतिनिधिसमेत सुरक्षित नरहेको अवस्था देखिएको उनको दाबी छ ।
उनले देशमा आगजनी, तोडफोड, धम्की तथा धार्मिक विवादका घटना बढ्नुमा राज्य संयन्त्र कमजोर हुनु प्रमुख कारण रहेको बताए । तराई-मधेस क्षेत्रमा समेत नागरिकले अझै असुरक्षित महसुस गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सरकारले त्यहाँको वास्तविक अवस्थालाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे ।
साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई आफ्नो संवैधानिक तथा पदीय दायित्व अनुसार संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन आग्रह गरे । प्रधानमन्त्रीको उपस्थितिका लागि लामो समयदेखि माग हुँदै आए पनि त्यसलाई बेवास्ता गरिएको आरोप उनले लगाए ।
न्याय प्रणालीप्रति समेत नागरिकस्तरबाट प्रश्न उठिरहेको भन्दै उनले आन्दोलनमा सहभागी तथा असन्तुष्ट नागरिकसँग सरकारले प्रत्यक्ष संवाद गर्नुपर्ने बताए । नागरिकका समस्या र गुनासा बुझ्न सरकारी नेतृत्व स्वयं जनताबीच पुग्न आवश्यक रहेको उनको भनाइ छ ।
सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू प्रशासनिक कार्यालय वा वातानुकूलित कक्षमा सीमित भएर देशको वास्तविक अवस्था बुझ्न नसक्ने टिप्पणी गर्दै साम्पाङले स्थलगत रूपमा नागरिकका समस्या बुझेर नीति तथा निर्णय लिनुपर्नेमा जोड दिए ।
सरकारले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आएका सूचनाका आधारमा मात्रै राज्य सञ्चालन गर्न नहुने भन्दै उनले त्यसलाई अपरिपक्व कार्यशैलीको संज्ञा दिए । प्रतिनिधिसभामा ठुलो बहुमतको नजिक रहेको सरकारले प्रभावकारी काम गर्न बाधा के रहेको हो भन्ने प्रश्नसमेत उनले उठाए ।
साम्पाङले नागरिकको सुरक्षा, न्यायमा पहुँच, रोजगारी र सार्वजनिक सेवा सुधारका विषयमा सरकार थप गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।






