काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले मुलुकमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री वालेन्द्र शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बजारमा ग्यासको अभाव देखिए पनि प्रधानमन्त्री शाह सार्वजनिक रूपमा सक्रिय नदेखिएको भन्दै कटाक्ष गरे । उनले प्रधानमन्त्री ‘गुप्तवासमा’ रहेको टिप्पणी गर्दै देशमा ग्यासको संकटबारे समेत जानकारी नहुन सक्ने बताए ।
ग्यासको माग र आपूर्ति व्यवस्थापनसँगै सरकारले विद्युतीय ऊर्जाको प्रयोगलाई वैकल्पिक उपायका रूपमा प्रवर्द्धन गर्न सक्ने सुझाव पनि शर्माले दिए ।
उनले प्रधानमन्त्रीसँग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुन नसकेको विषयमा सभामुखको ध्यानाकर्षण गराए । साथै प्रधानमन्त्रीले नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिबारे अझै स्पष्ट जवाफ नआएको भन्दै त्यस विषयमा समेत संसद्मा स्पष्टीकरण आवश्यक रहेको बताए ।
शर्माले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुखसमक्ष आग्रहसमेत गरे ।
प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर सांसदहरूसँग प्रत्यक्ष संवाद गर्न आग्रह गर्दै शर्माले सरकार प्रमुख संसद्मा आउँदा सांसद र संसद्को संस्थागत समर्थन प्राप्त हुने बताए । सकारात्मक पहल भए संसद्ले साथ दिने तर गलत प्रक्रियाबाट अघि बढ्दा संसद्को विरोध सामना गर्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री आफ्नो दलले बनाएको सरकारको नेतृत्वमा रहे पनि सम्बन्धित पार्टी कार्यालयमा नजाने र सामाजिक सञ्जालमा मात्र धारणा सार्वजनिक गर्ने प्रवृत्तिले संवादको दूरी बढाएको शर्माको टिप्पणी थियो । उनले प्रधानमन्त्रीलाई पार्टी नेतृत्व र संसद्सँग नियमित संवाद तथा सहकार्यमा फर्कन आग्रह गरे ।






