काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका उपनेता पद्मा अर्यालले नेपालको खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।
नेपाल खनिज सम्पदाले सम्पन्न भएपनि हालसम्म प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउन नसकिएको उल्लेख गर्दै अर्यालले प्रस्तुत विधेयकले यो दिशामा मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरिन् । खनिज क्षेत्रको विकासका लागि आधुनिक भूवैज्ञानिक अध्ययन र विस्तृत अन्वेषणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । अर्यालले केवल उत्खननमा मात्र सीमित नभई प्रशोधन उद्योग स्थापना गरी कच्चा पदार्थको उत्पादन र मूल्य अभिवृद्धि गरिएका वस्तु बजारमा पुर्याउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘खानी परियोजना सञ्चालन गर्दा स्थानीय समुदायको रोजगारी, सीप विकास र पूर्वाधार निर्माणलाई अनिवार्य रूपमा परियोजनासँग जोड्न आवश्यक छ ।’
विगतमा शुरु भएका दैलेखको पेट्रोलियम तथा ग्यास र धौबाधीको फलाम खानीजस्ता परियोजनाहरूलाई सफल बनाउनुपर्नेमा जोड दिँदै उनले चुनढुंगा, तामा र सुन लगायतका खानीहरूले नेपाललाई आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजाने आधार तय गर्ने बताइन् ।
यी परियोजनाहरू सफल भएमा मुलुक औद्योगिकीकरणको दिशामा अघि बढ्ने, रोजगारी सिर्जना हुने र पेट्रोलियम एवं फलामको आयातमा रहेको निर्भरता घटेर निर्याततर्फ जान सकिने उनको दाबी छ । प्राकृतिक स्रोतलाई राष्ट्रिय समृद्धिको आधार बनाउने संविधानको लक्ष्यलाई पूरा गर्न यो विधेयक प्रभावकारी हुनुपर्ने अर्यालले उल्लेख गरिन् । विधेयक केवल कानूनमा मात्र सीमित नभई नेपालको प्राकृतिक सम्पदालाई राष्ट्रिय विकास, औद्योगिक सुधार र आत्मनिर्भर अर्थतन्त्रको बलियो आधार बनाउन केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् ।






