काठमाडौँ । स्याङ्जाका सरकारी कार्यालयमा गरिएको अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएपछि सम्बन्धित कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरिएको छ।
आज (मंगलबार) २६ गते बिहान ९ बजेदेखि आठ वटा टोली परिचालन गरी विभिन्न सरकारी कार्यालयको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा कर्मचारीको उपस्थिति, समय पालना तथा कार्यालयीय अनुशासनको अवस्थाबारे निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले बताए।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार बिदा-काज स्वीकृत नभएका ७ जना, हाजिर गरेर कार्यालयमा उपस्थित नभएका १ जना, ढिला उपस्थित भएका १२ जना र ड्रेसकोड पूर्ण रूपमा पालना नगरेका १४ जना भेटिएका छन्।
कैफियत देखिएका कर्मचारीलाई सम्बन्धित कानुनी व्यवस्था अनुसार कारवाही गर्न सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरिएको छ। साथै, गरिएको कारवाहीको जानकारी ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन निर्देशन दिइएको छ।
अनुगमनमा खानेपानी तथा सरसफाइ, भेटेरिनरी अस्पताल तथा पशु सेवा, जिल्ला समन्वय समिति, कृषि आधुनिकीकरण परियोजना, पूर्वाधार विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ, प्रदेश अस्पताल, प्रदेश जनस्वास्थ्य, भूमि प्रशासन, नापी, एकीकृत सेवा, शिक्षा विकास तथा समन्वय र डिभिजन वन कार्यालयलगायतका निकायको निरीक्षण गरिएको थियो।
कार्यालयमा नियमित उपस्थिति, समय पालना र कर्मचारी आचरण सुनिश्चित गर्ने उद्देश्यले गरिएको अनुगमनबाट देखिएका कैफियतमा सम्बन्धित निकायले कानुनअनुसार कारबाही अघि बढाउनुपर्ने भएको छ।






