काठमाडौँ । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने तथा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता महसुल असुल गर्नुपर्ने विषयलाई आफ्नो कार्यक्रमका रूपमा अघि सारेको छ।
पार्टीले विद्युत् क्षेत्रमा देखिएका राजस्व, महसुल र उपभोगसँग सम्बन्धित विषयलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्दै विद्युत्माथिको करभार घटाउने तथा लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुलीलाई प्राथमिकतामा राखेको हो।
विद्युत् महसुलमा भ्याट लगाउँदा उपभोक्तामाथि थप आर्थिक भार पर्ने भएकाले त्यसलाई हटाउनुपर्ने पार्टीको प्रस्ताव छ। विद्युत् आधारभूत पूर्वाधार तथा दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको सेवा भएकाले यसको मूल्यलाई थप करभारबाट प्रभावित हुन नदिनुपर्ने उसको तर्क छ।
त्यसैगरी, डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् सेवा लिएका उद्योग तथा अन्य ग्राहकबाट उठाउन बाँकी महसुललाई प्रभावकारी रूपमा असुल गर्नुपर्ने पार्टीले जनाएको छ। लामो समयदेखि विवादमा रहेको उक्त बक्यौता विषयलाई कानुनी र प्रशासनिक प्रक्रियामार्फत टुंगोमा पुर्याई राज्यको राजस्व सुनिश्चित गर्नुपर्ने उसको धारणा छ।






