रसुवा । तिब्बततर्फबाट बुधबार बिहान आएको आकस्मिक बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ। घर, बजार, भन्सार, सुरक्षा संरचना तथा अन्य पूर्वाधार बाढीबाट प्रभावित भएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब ९ बजेको समयमा आएको बाढीले टिमुरे बजारको बस्तीमा ठूलो क्षति पुर्याएको हो। घटनास्थलको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ। रसुवा प्रशासनका अनुशार भन्सार र स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
बाढीको प्रभाव टिमुरे र स्याफ्रुबेसीमा मात्र सीमित नभई भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत देखिएको छ। बेत्रावती, मैलुङलगायत क्षेत्रमा क्षतिको प्रारम्भिक विवरण आएका छन् भने नुवाकोट र धादिङतर्फ नदी किनारका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम अघि बढाइएको छ।
पूर्ण क्षति अझै यकिन छैन
स्थानीय जनप्रतिनिधि तथा बासिन्दाबाट घर, बजार र अन्य संरचनामा ठूलो क्षति भएको विवरण आए पनि कति घर बगे, कति परिवार विस्थापित भए र कति मानवीय क्षति भयो भन्ने एकीकृत सरकारी तथ्यांक सार्वजनिक भइसकेको छैन।
सडक, पुल, सञ्चार तथा विद्युत् पूर्वाधार प्रभावित भएकाले घटनास्थलसँग सम्पर्क स्थापित गर्न कठिनाइ भएको छ। स्थानीय प्रशासन र तीनै सुरक्षा निकायले खोज तथा उद्धारसँगै क्षतिको विवरण संकलन गरिरहेका छन्।






