काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतमा हिम पहिरोका कारण हिमताल फुट्दा रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनतर्फ बहेको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।
इतिहासकै दुर्लभ र अकल्पनीय यो प्राकृतिक विपत्तिका कारण दर्जनौँ बस्तीहरू बगाएका छन् भने ठूलो सङ्ख्यामा नागरिकहरू बेपत्ता भएका छन् ।
बुधवार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै विभिन्न राजनीतिक दलका नेताहरूले यो राष्ट्रिय संकटको घडीमा सबै पक्ष एकजुट भएर उद्धार र राहतमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले यस घटनालाई इतिहासकै दु:खद् भन्दै पहिलो कर्तव्य नागरिकको जीवन रक्षा रहेको बताइन् । एमालेका तर्फबाट स्वयंसेवकहरू उद्धारमा खटिसकेको जानकारी दिँदै उनले प्रतिपक्षको भूमिका संकटमा सरकारलाई साथ दिने रहने स्पष्ट पारिन् ।
उनले भनिन्, ‘अझै पनि जोखिम कायम रहेकाले सीमावर्ती र तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु हाम्रो प्राथमिकता हो । सरकारले आफ्ना सबै संयन्त्र परिचालन गरी उद्धार र राहतमा तीव्रता दिनुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले प्रधानमन्त्रीको निर्देशनमा २८ वटा हेलिकप्टर उद्धारका लागि परिचालन भइसकेको जानकारी दिए। उनका अनुसार सुरक्षा निकाय र प्रशासनिक संयन्त्रले क्षतिको प्रारम्भिक विवरण संकलन गरिरहेका छन् र आवास तथा राहतका लागि ‘क्लस्टर’ बनाएर काम शुरु गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जुम्लाका मात्रै करिव ८० जना मानिस बेपत्ता भएको प्रारम्भिक सूचना आएको बताए ।
उनले भने, ‘यो समय आलोचना गर्ने होइन, सरकारलाई साथ दिने हो । व्यवसायी, एनआरएन र आम नागरिकले आआफ्नो तर्फबाट भौतिक वा आर्थिक सहयोग गर्न जरुरी छ ।’
बाढीले जलविद्युत आयोजनाहरू, सरकारी कार्यालयहरू र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ । पर्यटकहरू र छिमेकी जिल्लाबाट गएका सवारीसाधनहरू समेत बेपत्ता भएको बताइएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा जोखिम बढेको उल्लेख गर्दै चीन सरकारसँग पूर्वसूचना प्रणाली (अर्ली वार्निङ सिस्टम) का लागि कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘दुई वर्षअघि पनि यस्तै घटना भएको थियो । नदी प्रणालीमा अटोमेटिक अलार्म सिस्टम जडान गर्न ढिला भइसकेको छ । चीनसँग यस क्षेत्रमा सहकार्य गर्ने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ ।’
नेकपा (एमाले) का सांसद गुरु बरालले जलवायु परिवर्तनका कारण हिमतालहरू पग्लिने क्रम बढेको र भूकम्पीय जोखिमका कारण यस्ता विपत्ति आएको हुनसक्ने बताए ।
उनले उत्तरतर्फका सबै हिमनदीहरूको अद्यावधिक सूचना राख्ने प्रणाली विकास गर्न सरकारको ध्यानाकर्षण गराए ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अहिलेको समय प्रश्न गर्ने नभई संयम र विवेक प्रयोग गर्ने समय भएको बताए।
सरकारले १३ वटा हेलिकप्टर परिचालन गरेको र आपत्कालीन कोषबाट रकम निकासा गरेकोमा सकारात्मक प्रतिक्रिया दिँदै उनले सूचना आदानप्रदानमा देखिएको कमजोरीलाई आगामी दिनमा सुधार्नुपर्ने बताए ।
विपत्तिमा परेकाहरूको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय रूपमा परिचालन भएका छन् ।
सरकारले घाइतेहरूको नि:शुल्क उपचार र विस्थापितहरूको पुन:स्थापनाका लागि तत्काल योजना बनाउनुपर्ने माग राजनीतिक दलहरूले गरेका छन् ।






