काठमाडौँ । रसुवासहित नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा प्रतिकार्यमा सहयोग पुर्याउन भारतले १० टन मानवीय सहायता तथा विपद् राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ।
भारतका विदेश मन्त्री डा. एस. जयशंकरले बुधबार सामाजिक सञ्जालमार्फत सहायता सामग्रीका तस्बिर सार्वजनिक गर्दै नेपाल पठाइएको जानकारी दिएका हुन्।
जयशंकरका अनुसार विनाशकारी बाढीपछिको प्रतिकार्यमा नेपाललाई सहयोग गर्न १० टन मानवीय सहायता तथा विपद् राहत (एचएडीआर) सामग्री र अत्यावश्यक औषधि पठाइएको हो।
उनले बाढीमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावितहरूप्रति भारतको साथ रहेको उल्लेख गरेका छन्।
‘यस चुनौतीको सामना गर्ने क्रममा भारत नेपाल र नेपाली जनताको साथमा छ,’ जयशंकरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम जारी रहेका बेला भारतले सहायता सामग्री पठाएको हो। बाढीले रसुवागढी क्षेत्रसहित प्रभावित स्थानमा जनधन, भौतिक संरचना तथा व्यापारिक गतिविधिमा ठूलो क्षति पुर्याएको छ।






