काठमाडौँ। रसुवामा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिबारे गृहमन्त्री सुधन गुरुङले सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई पछिल्लो अवस्थाको जानकारी गराएका छन्।
गृहमन्त्री गुरुङले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि सुरक्षा निकायलाई परिचालन गरिएको बताएका छन्। सुरुङलगायत संवेदनशील स्थानमा जोखिम न्यूनीकरण र उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ।
उनका अनुसार बाढीबाट पूर्वाधार क्षेत्रमा भएको क्षतिको प्रारम्भिक अवस्था गम्भीर देखिए पनि यकिन विवरण संकलन गर्न कठिन भइरहेको छ। मानवीय क्षति तथा बेपत्ता नागरिकको वास्तविक संख्या पहिचान गर्न विभिन्न संयन्त्र र माध्यममार्फत खोजी तथा विवरण संकलनको काम जारी रहेको उनले जानकारी दिएका छन्।
विपद् व्यवस्थापनमा स्वयंसेवक परिचालनका लागि राजनीतिक दलहरू तथा विभिन्न पक्षबाट देखाइएको तत्परतालाई गृहमन्त्री गुरुङले सकारात्मक रूपमा लिएका छन्। प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालनका लागि यस्तो सहयोग आवश्यक रहेको उनले बताएका छन्।
बाढी तथा हिमाली क्षेत्रबाट आगामी दिनमा निम्तिन सक्ने सम्भावित जोखिमको पूर्वआकलन गर्न विशेष अध्ययन आवश्यक रहेको पनि उनले औँल्याएका छन्। हिमताल र हिमाली क्षेत्रमा हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान तथा पूर्वानुमानका लागि छुट्टै विशेषज्ञ टोली गठन गर्नुपर्ने उनको धारणा छ।
विपद्का कारण अवरुद्ध सञ्चार तथा आवागमन पुन:स्थापित गर्न विशेष टोली परिचालन गरिएको जानकारी पनि गृहमन्त्रीले बैठकमा दिएका छन्।
रसुवाको बाढीपछिको समग्र अवस्था, उद्धार तथा राहत व्यवस्थापन र आगामी कार्यदिशाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको थियो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तथा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहभागी थिए।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरसहित अन्य राजनीतिक प्रतिनिधिको पनि बैठकमा सहभागिता रहेको थियो। अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी तथा प्रवक्ता जगदीश खरेललगायतको समेत उपस्थिति थियो।






