सुर्खेत । चिङ्गाड गाउँपालिकाका कर्मचारीले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।
गाउँपालिका र मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा सेवा केन्द्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीको तीन दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको पारिश्रमिक कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।
भदौ १० गते आएको आकस्मिक र अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति गाउँपालिका परिवारले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। बेपत्ताको शीघ्र खोजी र घाइतेको स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।
गाउँपालिकाले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न, उद्धार तीव्र बनाउन र राहत सामग्री पुर्याउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा मानवीय संस्थाले देखाएको सक्रियताको प्रशंसा गरेको छ।
मौसम अझै पूर्ण रूपमा अनुकूल नभएको र बाढीको जोखिम कायमै रहेकाले उच्च सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन गाउँपालिकाले सबै नागरिकलाई आग्रह गरेको छ।







