काठमाडौँ। बाढी पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा पुन:स्थापना तथा प्रभावकारी बनाउन प्राविधिक जनशक्ति, जेनेरेटर र इन्धन परिचालन गरिएको छ।
सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको सचिवालयका अनुसार रसुवाको न्यौपाने चौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर तथा ब्याट्री पुर्याएर आसपासका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालनमा ल्याइएको छ।
धुन्चे क्षेत्रमा पनि जेनेरेटर र इन्धनको व्यवस्था गरी आवश्यक कर्मचारी परिचालन गरेर सेवा सञ्चालनको प्रबन्ध मिलाइएको छ।
नुवाकोट र धादिङतर्फ मदनपुर, बट्टार, विदुर बसपार्क तथा बैरेनी–ठमेल डाँडालगायतका क्षेत्रमा जेनेरेटर, इन्धन र प्राविधिक जनशक्ति परिचालन गरिएको छ। ती क्षेत्रमा सेवा पुन:सञ्चालन गर्ने कार्य जारी रहेको सचिवालयले जनाएको छ।
महत्त्वपूर्ण दूरसञ्चार साइटमा सेवा निरन्तर राख्न आवश्यक जेनेरेटर, इन्धन तथा कर्मचारीको व्यवस्था गरिएको छ। सञ्चालनमा रहेका बीटीएसको नेटवर्क व्यवस्थापनतर्फ कभरेज, क्षमता अभिवृद्धि तथा अप्टिमाइजेसनको कामसमेत गरिएको जनाइएको छ। यसबाट उपलब्ध नेटवर्कलाई थप प्रभावकारी बनाउने प्रयास गरिएको छ।
यसैबीच, प्रभावित सेवाग्राहीलाई उपलब्ध गराइएको नि:शुल्क दूरसञ्चार सुविधाको अवधि थप तीन दिन बढाइएको छ। अब भदौ १२, १३ र १४ गतेसम्म सम्बन्धित क्षेत्रमा भ्वाइस कल नि:शुल्क, साथै प्रतिदिन २ जीबी डेटा र ५० एसएमएस नि:शुल्क उपलब्ध हुने सचिवालयले जनाएको छ।
आपत्कालीन अवस्था तथा आवश्यक सहयोगका लागि १२३४, १०० र १११४ नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।






