काठमाडौँ। भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनामा भाद्र १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको जानकारी प्राप्त भएको छ। भू-उपग्रहबाट प्राप्त तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा उक्त स्थानमा पानी जमेर तालको आकार बढिरहेको जनाइएको छ।
ताल निरन्तर विस्तार भइरहेकाले कुनै पनि समयमा फुट्न सक्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख छ। यस्तो अवस्था आएमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक बाढीको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक, यात्रु तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्तालाई नदी किनार तथा अन्य जोखिमयुक्त स्थानबाट टाढा सुरक्षित क्षेत्रमा रहन अनुरोध गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित सबै पक्षले सतर्कता कायम राख्न र सुरक्षा निकाय तथा सम्बन्धित निकायबाट जारी हुने सूचनालाई गम्भीरतापूर्वक पालना गर्नसमेत आग्रह गरिएको छ। सूचना बाढी पूर्वानुमान महाशाखाले जारी गरेको हो।






