काठमाडौँ । नेपाली काँग्रेसका नेता जगदीश्वर नरसिंह केसीले नुवाकोट, रसुवा र धादिङका बाढी पहिरो प्रभावित क्षेत्रमा सरकारी राहत र उद्धार कार्य सुस्त भएको भन्दै आपत्ति जनाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै नेता केसीले विपद्को समयमा राज्यको उपस्थिति कमजोर देखिएको बताएका छन्।
पीडितहरूको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी गराउँदै नेता केसीले भैरमकोट, केउरिनी, बुढासिंह घाट र त्रिशूली बजार क्षेत्रका हजारौँ नागरिक विस्थापित भएर विद्यालय तथा कभर्ड हलमा शरण लिइरहेको जानकारी दिए ।
उनकाअनुसार त्रिशूली नदी पारिपट्टिका क्षेत्रहरूमा हालसम्म विद्युत सेवा अवरुद्ध छ भने अस्पतालहरूमा जेनेरेटरको अभावमा उपचार सेवा प्रभावित भएको छ ।
नेता केसीले राहत सामग्री संकलन भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको दाबी गरे । उनले विगतका भूकम्प र कोभिड महामारीमा जस्तै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सर्वदलीय संयन्त्र बनाएर राहत वितरण गर्न र सुरक्षा निकायलाई उद्धारमा मात्र केन्द्रित गर्न सुझाव दिए ।
चिलिमे क्षेत्रको सुरुङमा नुवाकोटका एक इन्जिनियरसहित करिब २ सय जना प्राविधिक तथा कामदारहरू फसिरहेको उल्लेख गर्दै नेता केसीले उद्धारमा ‘युद्धस्तर’ मा काम हुन नसकेको बताए ।
उनले भने, काठमाडौँबाट पठाइएका राहत सामग्रीहरू आर्मी क्याम्प र सभा हलहरूमा थुप्रिएर बसेका छन्, तर पीडितले म्याट्रेस र ओढ्ने कपडा समेत पाएका छैनन् । चीन सरकारले उद्धारका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदा पनि सरकारले आवश्यक समन्वय नगर्नु दु:खद् छ । प्रधानमन्त्री गएर फर्किएपछि कुनै ठोस प्रगति देखिएको छैन । सरकार छ भन्ने अनुभूति जनताले गर्न पाएका छैनन् ।’
प्रधानमन्त्री र गृहमन्त्रीको प्रभावित क्षेत्र भ्रमणलाई लक्षित गर्दै उहाँले उच्चस्तरीय भ्रमण ‘फोटो खिच्न’ मा मात्र सीमित भएको टिप्पणी गरे । नेता केसीले विपद्को यो घडीमा पार्टीका नेता-कार्यकर्ताहरूलाई कुनै पनि राजनीतिक प्रचारबाजी वा पहिचानबिना इमानदार भएर मानवीय सेवामा जुट्न आग्रह गरेका छन् ।






