काठमाडौँ। रसुवाको गोसाइँकुण्ड क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति बांङ्लादेशको संसद्ले दुःख व्यक्त गर्दै सर्वसम्मत रूपमा शोक प्रस्ताव पारित गरेको छ।
संसदीय बैठकमा प्रस्तावमाथि छलफलपछि बाढीका कारण ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गरिएको थियो। त्यस क्रममा सांसदहरूले एक मिनेट मौनधारण गरेका थिए। मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै धार्मिक प्रार्थनासमेत गरिएको थियो। प्रार्थना बांङ्लादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले सञ्चालन गरेका थिए।
बांङ्लादेशी संसद्का सभामुख हाफिज उद्दीन अहमदले पनि छुट्टै शोक सन्देशमार्फत नेपालमा बाढी तथा पहिरोका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रभावित नेपाली परिवारप्रति समवेदना प्रकट गर्दै विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ।
भदौ १० गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको ठूलो बाढीले भोटेकोशी नदी आसपास व्यापक क्षति पुर्याएको थियो। बाढीसँगै बगेको गेग्रानका कारण नदीको बहाव अचानक बढ्दा आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् संरचनाहरू प्रभावित भएका थिए।
प्राकृतिक विपत्तिको प्रभाव स्थानीय बस्ती र भौतिक पूर्वाधारमा मात्र सीमित नरही कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका पर्यटकसम्म परेको थियो।






