काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ।
आयोगका अनुसार सेवाग्राहीसँग भुक्तानी रकममा कमिसनका लागि पटक-पटक मोलमोलाइ गर्दै रकम मागेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। आयोगको टोलीले तामाङलाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट आर्थिक वर्ष २०८२-८३ मा म्यागङ गाउँपालिकाअन्तर्गत सोलार स्ट्रिट लाइट खरिद तथा जडानसम्बन्धी काममा सहजीकरण गरिदिएबापत तामाङले सेवाग्राहीसँग घुस मागेर रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले तामाङको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर भएको निष्कर्ष निकालेको छ। सोही आधारमा १ लाख रुपैयाँलाई बिगो कायम गरी ऐनको सम्बन्धित व्यवस्थाअनुसार कैद तथा बिगोबराबर जरिवानाको सजाय मागदाबी गरिएको छ।






