काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न संघीय सरकारसँग अनुमति मागेको छ ।
काठमाडौँमा बढ्दो पार्किङ समस्या समाधानका लागि सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा मल्टी स्टोरी पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको हो ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरलाई अनुमति दिन संघीय सरकारसँग विशेष अनुरोध गरिएको बताइन् । उनका अनुसार एनएसी भवनमा बहुमंजिला पार्किङ बनेपछि विशेष गरी काठमाडौँको कोर एरियामा रहेको पार्किङ समस्या समाधान गर्न सहयोग पुग्ने महानगरको विश्वास छ ।
महानगरले काठमाडौँभरको पार्किङ समस्या र त्यसको व्यवस्थापनबारे समेत अध्ययन गरिरहेको जानकारी दिईन्। विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उनले बताइन् ।
उनले भनिन्, ‘ पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन । हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो । यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित एनएसीको भवनलाई बहुस्तरीय पार्किङका रूपमा विकास गर्न अनुमति दिन संघीय सरकारसँग विशेष अनुरोध गरेको छ । एनएसीमा बहुस्तरीय पार्किङ निर्माण हुन सकेमा विशेष गरी कोर एरियाको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ । त्यसैगरी, काठमाडौँभरि पार्किङ व्यवस्थापनका विषयमा अध्ययन भइरहेको छ । केही समयमै विज्ञबाट तयार हुने अध्ययन प्रतिवेदन प्राप्त हुनेछ । प्रतिवेदनले दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई अझ व्यवस्थित र प्रणालीगत बनाउँदै समस्या समाधानतर्फ महानगरपालिका अघि बढ्नेछ ।’
डंगोलले काठमाडौँको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नेभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए । बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरले अब थप व्यवस्थित र प्रणालीगत ढंगले काम गर्ने उहाँको भनाइ छ ।






