काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने तिखा टिप्पणीलाई व्यक्तिगत रूपमा नलिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसलाई एउटै परिवारका रूपमा बुझेर आपसी असमझदारी सौहार्दपूर्ण छलफलबाट समाधान गर्नुपर्ने बताएका हुन्।
‘मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला। हामी कहिल्यै पनि त्यो कुरालाई व्यक्तिगत रूपमा लिने गरेका छैनौँ,’ उनले भने।
पार्टी जीवनमा सँगै काम गर्दा कहिलेकाहीँ एक अर्कालाई ठेस पुग्न सक्ने उल्लेख गर्दै थापाले त्यसलाई सामान्य रूपमा लिएर संवादमार्फत अघि बढ्नुपर्ने बताए।
‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो। हाम्रो पार्टी परिवार हो, एउटै परिवार हो। परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ थापाले भनेका छन्, ‘मबाट पनि भयो होला, अरू साथीहरूबाट पनि भए होला। यी सामान्य कुरा हुन्। यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लैजाने कुरा हो।’






