काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण समितिले संवैधानिक तथा कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, सरोकारवाला समन्वय र सञ्चार क्षेत्रको अध्ययनका लागि चारवटा विषयगत उपसमिति गठन गरेको छ।
महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित समितिको पहिलो बैठकले सांसद मनिष खनाललाई सचिवको जिम्मेवारीसमेत दिएको छ।
जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने संयन्त्रका रूपमा ‘राइट टु रिकल’को अवधारणा अघि बढाउने उद्देश्यले पार्टीले दस्तावेज निर्माण समिति गठन गरेको हो।
बैठकले संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययनको जिम्मेवारी सुलभ खरेल र गजला शमिम मिकरानीलाई दिएको छ। अन्तर्राष्ट्रिय प्रचलित अभ्यास अध्ययन उपसमितिमा अनुष्का श्रेष्ठ रहेकी छन्।
त्यस्तै, सरोकारवालासँग छलफल तथा समन्वय गर्ने जिम्मेवारी समीक्षा बास्कोटा र करिस्मा कठरियालाई दिइएको छ। सञ्चार तथा मिडिया समन्वय उपसमितिको जिम्मेवारी प्रमोद न्यौपानेले पाएका छन्।
बैठकमा महामन्त्री आचार्यसहित समिति सदस्यहरू गणेश पराजुली, प्रमोद न्यौपाने, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी र करिस्मा कठरिया सहभागी थिए।






