काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था र पुन:स्थापनाका विषयमा छलफल गरेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार भएको भेटमा सञ्चार मन्त्री डा. तिमिल्सिनाले बाढी प्रभावित बस्तीलाई कहाँ र कसरी पुन:स्थापना गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै एकीकृत बस्ती बसाल्न स्थान पहिचानका लागि सम्बन्धित स्थानीय तहले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने र सुरक्षित स्थान पहिचान गरी बस्ती विकासको तयारी गर्नुपर्ने उनको भनाई छ । सञ्चार मन्त्री तिमिल्सिनाले तीनवटै तहबीच समन्वय गरेर सुरक्षित क्षेत्रमा एकीकृत बस्ती विकासको अवधारणाअनुसार पुन:स्थापनाको योजना अघि बढाइने बताए ।
भविष्यमा बाढी तथा अन्य विपद्बाट प्रभावित नहुने गरी सुरक्षित स्थानमा बस्ती विकास गर्न आवश्यक तयारी भइरहेको उहाँले जानकारी दिए। पुन:स्थापनाका लागि गिट्टी, बालुवा, काठलगायत स्थानीय स्रोतसाधनको व्यवस्थापन स्थानीय तहबाट गर्न सकिने तथा संघीय सरकारले आवश्यक नीतिगत, आर्थिक तथा प्राविधिक सहयोगका लागि नेतृत्वदायी भूमिका खेल्ने उनको भनाई थियो ।
उत्तरगया गाउँपालिका अध्यक्ष अर्यालले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कामलाई थप व्यवस्थित बनाउनुपर्ने बताए । उनले पुन:स्थापनाका लागि आवश्यक तयारी, प्रभावितको तथ्यांक तथा विवरणमा एकरूपता कायम गर्नुपर्ने विषयमा सञ्चार मन्त्री डा तिमिल्सिनालाई जानकारी गराए । अध्यक्ष अर्यालले अस्थायी आवास व्यवस्थापन र दीर्घकालीन पुन:स्थापनाका लागि छुट्टाछुट्टै समिति बनाएर काम गर्दा सहज हुने बताए । विभिन्न गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भइरहेको सहयोगलाई प्रभावितको आवश्यकताका आधारमा व्यवस्थित गर्नुपर्नेमा पनि उनले जोड दिए ।
छलफलमा प्रभावितको वास्तविक आवश्यकता पहिचान गरी उपलब्ध स्रोतसाधन उचित रूपमा वितरण गर्ने विषयमा पनि कुराकानी भएको छ ।
त्यस्तै, बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको अवस्था र उनीहरूको लालनपालन, पठनपाठन र भविष्यको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने विषयमा छलफल भएको थियो ।






