काठमाडौँ । विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेका पत्रपत्रिकाले बिल-बीजकसहितका आवश्यक कागजात बुझाउने समय थप गरेको छ।
बोर्डले २०८३ साउन र भदौ महिनामा लोककल्याणकारी विज्ञापन प्रकाशन गरी संशोधित कार्यविधिले तोकेको मापदण्ड पूरा गरेका पत्रपत्रिकाका लागि कागजात पेस गर्ने म्याद असोज १५ गतेसम्म बढाएको हो।
यसअघि बोर्डले भदौ २५ गते सूचना जारी गर्दै त्यस्ता पत्रपत्रिकालाई असोज ७ गतेसम्म विज्ञापन बोर्ड वा सम्बन्धित हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयमा बिल–बीजकसहित आवश्यक कागजात बुझाउन भनेको थियो।
तर आर्थिक वर्ष २०७९/८० को पत्रपत्रिका वर्गीकरण पुनरावलोकनसहितको अन्तिम नतिजासम्बन्धी प्रतिवेदन, २०८२ मा समावेश भएका केही पत्रपत्रिका अझै सूचीकरण तथा नवीकरणको प्रक्रियामा रहेको देखिएपछि कागजात पेस गर्ने अवधि थप गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार वर्गीकरणसम्बन्धी उक्त प्रक्रियामा समावेश पत्रपत्रिकामध्ये साउन र भदौमा लोककल्याणकारी विज्ञापन प्रकाशन गरेका तथा तोकिएको मापदण्ड पूरा गरेका सबै पत्रपत्रिकाले थप गरिएको अवधिभित्र बिल–बीजकसहितका कागजात पेस गर्नुपर्नेछ।
बोर्डले सम्बन्धित हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयलाई पनि संशोधित समयसीमाअनुसार आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ।







